बाँकेमा मतदाता नामावलीमा नाम दर्ता गराउनेको भीड

शाख न्यूज    प्रकाशित: २०८२-७-२८ गते   ९१ पटक हेरिएको

नेपालगन्ज - बाँकेमा मतदाता नामावलीमा नाम दर्ता गराउनको भीड छ । आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि गएको असोज १० गतेदेखि यही कार्तिक मसान्तसम्म मतदाता नामावलीमा नाम दर्ता गराउने समय सीमा तोकिएपछि निर्वाचन कार्यालय बाँकेमा भीड बढेको हो ।

जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख टेकबहादुर शाहीका अनुसार हिजो आज दैनिक तीन सय बढी नयाँ मतदाता नामावली दर्ताका लागि कार्यालय आउने गरेका छन् । कार्तिक २१ गतेसम्म बाँकेमा ५ हजार २ सय २९ जना नयाँ मतदाता थपिएका छन् । ती मध्ये पुरुष २ हजार ६सय ६ र महिला २ हजार ६ सय २३ जना रहेको शाहीले बताए । उनका अनुसार अधिकांश मतदाता नव युवा छन् । १८ देखि २५ वर्ष उमेर समूहका बढी छन् ।

बाँकेमा २०७९ सालको निर्वाचनमा ३ लाख ३३ हजार ९ सय ३४ जना मतदाता थिए । त्यसमा १ लाख ६९ हजार ८ सय ७६ पुरुष, १ लाख ६४ हजार ४९ महिला र अन्य ९ जना थिए । निर्वाचन कार्यालयमा अहिले नयाँ मतदाता नामावलीमा नाम दर्ता गर्ने, त्रुटि सच्चाउने, ठाउँसारी गर्ने लगायतका कामहरु भइरहेको कार्यालय प्रमुख शाहीले बताए ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech