जङ्गली हात्तीको आक्रमणबाट नौ वर्षमा १७ जनाको मृत्यु

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालयको तथ्याङ्कअनुसार २०७३ साल यता निकुञ्ज, राष्ट्रिय तथा सामुदायिक वन वरपर सो सङ्ख्यामा सर्वसाधारणले ज्यान गुमाएका हुन्।

शाख न्यूज    प्रकाशित: २०८२-७-२५ गते   १४७ पटक हेरिएको

महेन्द्रनगर - कंचनपुरमा मानव–वन्यजन्तु द्वन्द्व पछिल्लो समय बढ्दै गएको छ। बितेको नौ वर्षमा कंचनपुरमा जङ्गली हात्तीको आक्रमणबाट तीन महिला र १४ पुरुष गरी १७ जनाको मृत्यु भएको छ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालयको तथ्याङ्कअनुसार २०७३ साल यता निकुञ्ज, राष्ट्रिय तथा सामुदायिक वन वरपर सो सङ्ख्यामा सर्वसाधारणले ज्यान गुमाएका हुन्।

डिभिजन वन कार्यालय कंचनपुर अधिकृत सोफिया भट्टराईले राष्ट्रिय वन तथा सामुदायिक वन र आसपासका क्षेत्रमा मात्रै नौ वर्षमा आठ जनाले ज्यान गुमाएको बताइन्। हात्तीको आक्रमणबाट दुई जना घाइते भएको तथ्याङ्कमा उल्लेख छ। “मृत्यु भएका प्रतिव्यक्ति रु १० लाखका दरले मृतकका परिवारलाई क्षतिपूर्ति दिइएको छ”, अधिकृत भट्टराईले भनिन्, “घाइतेहरुको प्रकृति हेरेर उपचार खर्च दिने व्यवस्था रहेको छ।”

पछिल्लो समय कंचनपुरको भीमदत्त, बेलौरी, बेदकोट, शुक्लाफाँटा नगरपालिका र लालझाडी र बेल्डाँडी गाउँपालिकामा जङ्गली हात्तीले नोक्सान पुर्‍याउँदै आएका छन्। जङ्गली हात्ती बस्ती पस्दा स्थानीय रातभर जाग्राम बस्ने गरेका छन् भने पालिका र सरोकारवाला निकाय हात्ती धपााउन खटिने गरेका छन्।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सूचना अधिकृत पुरुषोत्तम वाग्लेले हात्तीको आक्रमणबाट यहाँ २०७५ सालयता नौ जनाको मृत्यु भइसकेको जानकारी दिए। “यो अवधिमा नौ जनाको मृत्यु, सात गम्भीर र चार जना सामान्य घाइते भएका छन्”, उनले भने, “तुलनात्मक रुपमा यो वर्ष विगतको भन्दा निकुञ्ज र मध्यवर्ती क्षेत्रमा जङ्गली हात्तीको आवातजावत बढी देखिएको छ।”

उनले हात्ती धपाउन निकुञ्ज र निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको श्रीरणसिंह दलगण टोली तयारी अवस्थामा रहने गरेको जानकारी दिए।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech