मानवता नेपाल बाँकेको अध्यक्षमा सुमन गिरि चयन

शाख न्यूज    प्रकाशित: २०८२-७-१ गते   १५४२ पटक हेरिएको

बाँके १ कार्तिक -  “आउनुहोस् हराएको मानवताको खोजी गरौं “भन्ने मूल उद्देश्यका साथ स्थापना भएको मानवता नेपाल बाँकेको छैठौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरेको छ। मानवता नेपाल बाँकेले विगतदेखि नै सामाजिक सेवा, स्वास्थ्य, शिक्षा र मानव अधिकार संरक्षणका क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै आएको छ।

कार्यक्रमको प्रमुख अतिथिका रुपमा  लुम्बिनी प्रदेश सभाषद अम्बिका काफ्ले, बिशिस्ट अतिथि गैर सरकारी महासंघका केन्द्रीय सचिव नमस्कार शाह, बिशिस्ट अतिथि नेपालगन्ज उपमहानगरपालिका नगर प्रमुख मेयर  प्रशान्त बिष्ट, बिशिस्ट अतिथि जिल्ला प्रशासन कार्यालयका प्रमुख सिडियो धर्मराज जोशी, अतिथिहरुमा बिरमी चन्द्र फाउन्डेसनका अध्यक्ष डा. डक्टप्रसाद धिताल, पुर्ण तारा फाउन्डेसनका अध्यक्ष तारा कुमारी रोकाय, गैर सरकारी महासंघ बाँकेका सचिव रमेश सिटौला, नाइस नेपालगन्जका अध्यक्ष हेमराज भट्ट,  सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष दिपेन्द्र जोशी लगायत   संस्थाका संस्थापक, सल्लाहकार, विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरू र स्थानीय सञ्चारकर्मीहरूको उपस्थितिमा नयाँ नेतृत्वलाई बधाई तथा शुभकामना दिइएको थियो।

संस्थाका अध्यक्ष मधु सुदन अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा अधिवेशनमा गत वर्षको प्रतिवेदन, आन्तरिक लेखापरीक्षण, आगामी वर्षको कार्ययोजना तथा संस्थाको गतिविधि सम्बन्धी विभिन्न प्रस्तावहरू पारित गरिएको जनाइएको छ।

नव–निर्वाचित कार्यसमितिको अध्यक्ष पदमा सुमन गिरी, उपाध्यक्षमा खिम प्रसाद घिमिरे, सचिवमा ई. नेत्र प्रसाद सापकोटा, सह–सचिवमा खुस्बु श्रीवास्तव र कोषाध्यक्षमा अब्दुल अजिज हलवाई निर्वाचित भएका छन्। त्यसैगरी सदस्यहरूमा ई.  विवेक लामिछाने, रमेश पाठक, तारा रोकाय, रत्ना कुमारी गिरी, बसन्ता शर्मा र शरद प्रसाद रिजाल निर्वाचित भएका छन्।

कार्यक्रममा सांस्कृतिक कार्यक्रम, संस्थाले गरेका कामहरूको डकुमेन्ट्री प्रस्तुत गरिएको थियो । साथै संस्थाले पूर्व भौतिक योजना तथा शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राई र विभिन्न संघसंस्थामा सक्रिय रही मानवता नेपाल बाँकेशीत सहकार्य गरि काम गर्नु भएको सामुदायिक सेवा केन्द्रका अध्यक्ष दिपेन्द्र कुमार जोशीलाई सम्मान गरिएको थियोे ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech