सागर थापा
दाङ २८ असोज - जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक एसपी दिपक श्रेष्ठद्वारा ईलाका प्रहरी कार्यालय भालुवाङमा कार्यालय परिसर, व्यारेक, भान्सा तथा कार्यरत प्रहरी कर्मचारीहरूको टर्नआउट लगायत कार्यालयका सम्पूर्ण शाखाहरू प्रशासन शाखा, प्रबन्ध शाखा, कार्य शाखा, ज्येष्ठ नागरिक शाखा, हिरासत कक्ष समेतको निरीक्षण गरेका छन् ।

निरीक्षणको क्रममा सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई उच्च अनुशासनमा रही जनमुखी प्रहरी सेवा प्रवाह गर्न, जघन्य तथा पेन्डिङ मुद्दाहरूको प्रभावकारी रूपमा फर्छ्यौटमा जोड दिन, फरार प्रतिवादी पक्राउमा विशेष ध्यान दिन लगायत हिरासतमा रहेका थुनुवाहरूलाई अदालत लैजाँदा तथा ल्याउँदा विशेष सतर्कता अपनाउन एसपि श्रेष्ठले निर्देशन दिएका छन् ।
त्यसैगरी, सवारी दुर्घटनाको न्यूनीकरण गर्न, नदिजन्य पदार्थहरूको अवैध उत्खनन तथा ओसार–पसार, अवैध काठ तस्करी, अवैध भन्सार छली लगायतका क्रियाकलापहरूमा कडाइका साथ नियन्त्रण गर्न तथा कार्यसम्पादन सम्झौतामा उल्लेखित लक्ष्यहरू समयमै पूरा हुने गरी कार्य सम्पादन गर्न समेत निर्देशन दिएका छन्।
आगामी तिहार तथा छठ पर्वको समयमा पटका र आतसबाजी जस्ता पदार्थहरूको अवैध ओसार–पसारमा नियन्त्रण गर्न समेत विशेष ध्यान दिनु पर्ने बताएका छन् ।
अन्त्यमा, उनले कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई आउँदै गरेको शुभ दीपावली, छठ पर्व तथा नेपाल संवत्को अवसरमा शुभकामना प्रदान गर्नुभएको ईलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख प्रहरी निरीक्षक पुष्करसिंह ऐरीले जानकारी दिएका छन् ।