बाँके - नेपालगन्जको फुलटेक्रास्थित ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवाले एक वर्षमै करिब ४० हजार बिरामीलाई ओपीडी सेवा दिएको छ । कान उपचारका लागि नेपाली मात्र नभई भारतीय बिरामीहरूको पनि भरोसाको केन्द्र बनेको ब्रिनोजले आर्थिक वर्ष २०८१/०८२ मा ३९ हजार ५ सय ३७ जनालाई ओपीडी सेवा प्रदान गरेको सेवाका प्रवन्धक चेतनारायण चौधरीले जानकारी दिए ।
उनका अनुसार, सेवा लिनेमा २४ हजार ५ सय ३ जना महिला र १५ हजार ३४ जना पुरुष छन् । तीमध्ये ३१ प्रतिशत भारतीय नागरिक हुन् । यस्तै, ७ सय ८४ वटा शल्यक्रिया भएका छन्, जसमा ५ सय ८१ वटा मेजर शल्यक्रिया हुन् । कानको जाली प्वाल परेका तथा कानको हड्डी खाने समस्या भएका बिरामीको सफलतापूर्वक शल्यक्रिया गरिएको इएनटी सर्जन डा. आनन्द झा बताउँछन् । त्यस्तै, २ सय ३ वटा माइनर शल्यक्रिया भएका छन् । शल्यक्रिया सेवा लिनेमा २ सय ४१ जना भारतीय बिरामी रहेका छन् ।
यो एक वर्षको अवधिमा ४ हजार २७ जनाको कानको सुनुवाइ क्षमता जाँच गरिएको छ भने ९ सय ६० जनाको ल्याब परीक्षण गरिएको छ । अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा ३५ हजार ८ सय ३४ जनाले ओपीडी सेवा लिएका थिए । त्यतिबेला ७ सय २६ जनाको शल्यक्रिया भएको थियो भने ४ हजार २ सय १९ जनाको सुनुवाइ परीक्षण र ९ सय २१ जनाको ल्याब परीक्षण गरिएको थियो ।
इएनटी सर्जन डा. आनन्द झा, डा. अजय बैश्य, डा. लोकनाथ वर्मा लगायतको टोलीले ओपीडी तथा शल्यक्रिया सेवा दिँदै आएको छ । दक्ष चिकित्सकहरूको उपचारले बिरामीमा थप भरोसा र विश्वास दिलाएको बिरामीहरूले बताएका छन् ।
यस्तै, भीषण थारुको नेतृत्वमा आउटरिच कार्यक्रम पनि ब्रिनोजले सञ्चालन गर्दै आएको छ । कान स्वास्थ्यबारे जनचेतना फैलाउन तथा ग्रामीण क्षेत्रका नागरिकलाई निःशुल्क सेवा प्रदान गर्न लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा शिविर आयोजना गरिएको प्रवन्धक चौधरीले बताए । आर्थिक वर्ष २०८१/०८२ मा मात्रै ७ हजार ६ सय ५६ जनाले आउटरिच कार्यक्रममार्फत सेवा लिएका छन् ।