बाँके - नेपाल प्रेस युनियन बाँके शाखाले सदस्यता नविकरण तथा नयाँ सदस्यता वितरण अभियान शुुुभारम्भ गरेको छ ।
नेपाल प्रेस युनियन केन्द्रले शुभारम्भ गरेको १ सय दिने सदस्यता अभियान अन्तर्गत शुक्रबार नेपालगन्जमा सदस्यता अभियान शुभारम्भ भएको हो । अभियानको शुभारम्भ गर्दै पवन जयसवाललाई नविकरण र सिद्धार्थ पाण्डेलाई नयाँ सदस्यता प्रदान गरिएको हो ।


नेपाल प्रेस युनियनका वरिष्ठ केन्द्रीय उपाध्यक्ष प्रेम केसीले प्रेस युनियन क्रियाशील पत्रकारहरुको संगठनका रुपमा परिचित रहेकाले व्यवसायिक र क्रियाशील पत्रकारहरुलाई मात्रै सदस्य बनाउन निर्देशन दिएका छन् ।
जिल्लामा पनि नयाँ सदस्य संख्या वृद्धि र पुराना सदस्यलाई सक्रिय र व्यवस्थित बनाउने उद्देश्यसहित अभियान सुरु गरिएकाले प्रदेश समिति हुँदै केन्द्रीय समितिमा पठाएका सदस्यता आवेदन तथा नवीकरण फारमसहितका आवश्यक कागजात तथा शुल्क बुझाएको आधारमा मात्र सदस्यता नवीकरण तथा नयाँ सदस्यता स्वीकृत हुने वरिष्ठ उपाध्यक्ष केसीले बताएका छन् ।
नेपाल प्रेस युनियन बाँके शाखाले केन्द्रीय कार्यक्रम अन्तर्गत सुरु गरेको सय दिने अभियानको शुक्रबार नेपालगन्जमा सुभारम्भ गर्दै वरिष्ठ उपाध्यक्ष केसीले युनियनलाई भर्ति केन्द्र नबनाउन निर्देशन दिए ।
‘सञ्चार क्षेत्रमा काम गर्ने र पत्रकारकै पहिचान बनाएका साथीहरुलाई सदस्यता दिने सवालमा पूर्वाग्रही नहुनुहोस् उनले भने–‘तर आफ्नो स्वार्थ सिद्दका लागि सदस्य बन्नेहरुलाई रोक्नुहोस् त्यस्ता सदस्यहरुको नवीकरण समेत नगरिदिए पनि हुन्छ ।’
यस्तै नेपाल प्रेस युनियन लुम्विनी प्रदेशका महासचिव नवीन गिरीले प्रेस युनियन अरु संगठन भन्दा पुरानो र अग्रणीय संगठन भएकाले यसमा आवद्ध हुनेहरु पनि पत्रकार भएकै हुनुपर्ने बताए । उनले शुद्धिकरण अभियानलाई प्रभावकारी गराउन पनि निर्देशन दिए ।
गत वर्षबाटै हामीले बाँकेमा शुद्धिकरण अभियान सुरु गरिसकेका छौं उनले भने–‘शुद्धिकरणलाई बदनाम गर्ने प्रयास गरियो । तर मर्यादित पत्रकारिताका लागि शुद्धिकरण आवश्यक छ ।’
नेपाल पत्रकार महासंघ लुम्विनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाइँले युनियनको सदस्यता अभियानले संगठनप्रति आस्था राख्नेहरुलाई उत्साहित गर्ने बताए ।
नेपाल प्रेस युनियन बाँके शाखाका अध्यक्ष प्रियास्मृति ढकालको अध्यक्षतामा सुरु भएको शुभारम्भ अभियानमा क्रियाशिल सञ्चारकर्मीको मात्र सदस्यता नवीकरण र नयाँ सदस्यता दिने घोषणा गरिएको छ । सदस्यता विशेष अभियानले पुरानो सदस्यता व्यवस्थित गर्न र नयाँ क्रियाशिल सञ्चारकर्मीलाइ सदस्यता दिलाउनका साथै संगठनलले प्रदान गर्ने सेवा सुविधाका सवालमा नेपाल प्रेस युनियनले सोच्नुपर्ने शाखाका अध्यक्ष ढकालले बताएका छन् ।
कार्यक्रममा प्रेस युनियन लुम्विनी प्रदेश सदस्य गौरव गिरी, बाँके शाखाका निवर्तमान अध्यक्ष अर्जुन वली, अग्रज नेता नीरज कुमार गौतमलगायतको उपस्थिति रहेको थियो । सचिव भिष्म लोधले सञ्चालन गरेको उक्त कार्यक्रमको स्वागत भने उपाध्यक्ष कमल खत्रीले गरेका थिए ।
