मानव सेवा आश्रममा बुवाको मुख हेर्ने दिनः आश्रित बुबाहरूको अनुहारमा झल्कियो खुसी

शाख न्यूज    प्रकाशित: २०८२-५-७ गते   १०६ पटक हेरिएको

नेपालगञ्ज । मानव सेवा आश्रम बाँके शाखामा बुवाको मुख हेर्ने दिन (कुशे औंशी) विशेष कार्यक्रमका साथ सम्पन्न भएको छ । आश्रममा हाल आश्रित रहेका ६० वर्ष नाघेका २० जना बुबाहरूलाई यस अवसरमा सम्मान गरिएको थियो । उनीहरू विगतमा आफ्ना सन्तानलाई हुर्काई–पढाई जीवन समर्पण गरी अहिले उमेर ढल्किँदा कमजोर बनेका र सडकमा आश्रय लिन विवश अवस्थामा उद्धार गरिएका व्यक्ति हुन् ।

कार्यक्रमका अवसरमा आश्रमका अभिभावकहरूले बुबाहरूलाई टीका, टोपी, फलफूल, मिठाई लगायतका सामग्री प्रदान गरेका थिए । यस क्रममा वातावरण निकै भावनात्मक र हृदयस्पर्शी बनेको थियो । कार्यक्रममा अभिभावक जैकेश सिंहले सन्देश दिँदै भने, “बुबाले सन्तानका लागि जीवनभरि त्याग गरेर हुर्काए पनि उमेर ढल्किँदा सन्तानले हेरचाह गर्ने दायित्व पूरा गर्न बिर्सिँदै गएका उदाहरणहरू बढिरहेका छन्, जुन समाजकै लागि गम्भीर चिन्ता हो।”

त्यस्तै अभिभावक सुशिला शर्माले “म आफैं ८० वर्ष नाघेकी भए पनि अझै आफ्ना बुबालाई सम्झन्छु” भन्दै आफ्नो अनुभूति साझा गरिन् । कार्यक्रममा गोविन्द पाण्डे, कृष्ण प्रसाद श्रेष्ठ, शुक्रऋषि चौलागाईं, भावना सापकोटा, जित बहादुर शाह, कृष्णमुरारी भट्ट लगायतको उपस्थिति रहेको थियो । आश्रम परिवारका तर्फबाट अभिभावकहरूलाई पनि टिका, टोपी, खादा, मिठाई र आश्रमको डायरी ‘मायाको चिनो’ स्वरूप प्रदान गरिएको थियो । कार्यक्रमको सञ्चालन मानव सेवा आश्रम बाँके जिल्ला सह–संयोजक विष्णु घर्तीले गरेकी थिइन् । 

हाल मानव सेवा आश्रम नेपालगञ्जमा ६५ जना आश्रित रहेकोमा ४५ जना पुरुष, २० जना महिला तथा तीन वर्षीया बालिका समेत छन् । जन्म दिन, पितृ स्मृति तथा अन्य विशेष अवसरमा प्राप्त हुने नगद तथा जिन्सी सहयोगकै आधारमा आश्रम सञ्चालन भइरहेको छ ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech